You are here: Home » मिडिया / समाचार » मंगला माविका विद्यार्थीलाई विकास योजना तर्जुमा सम्बन्धी प्रशिक्षण

मंगला माविका विद्यार्थीलाई विकास योजना तर्जुमा सम्बन्धी प्रशिक्षण

मंगला माविका विद्यार्थीलाई विकास योजना तर्जुमा सम्बन्धी प्रशिक्षण
बाबियाचौर, ९ पुष । मंगला गाउँपालिका–२ बाबियाचौरमा रहेको मंगला माविका विद्यार्थीहरुलाई बुधबार स्थानीय तहमा विकास योजना तर्जुमा सम्बन्धी प्रशिक्षण दिइएको छ ।
विद्यार्थीहरुलाई स्थानीय तहको योजना तर्जुमा तथा कार्यान्वयन प्रक्रियाका विषयमा जानकारी गराउने उद्देश्यले सामाजिक विषयको कक्षा १० को पाठ्यक्रम अनुसार प्रशिक्षण दिइएको हो ।
मंगला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले स्थानीय तहले योजना तर्जुमा र कार्यान्वयन गर्ने प्रक्रियाका बारेमा विद्यार्थीहरुलाई साढे एक घण्टा प्रशिक्षण दिनुभएको थियो ।
सम्बद्ध व्यक्तिलाइनै आमन्त्रण गरेर विद्यार्थीलाई प्रशिक्षण दिदा सिकाई र बुझाइमा सहज हुनुका साथै रुची दिएका शिक्षक हुमनाथ पाण्डेले बताउनुभयो । प्रशासकीय अधिकृत गौतमले पालिकाका सबै विद्यालयमा योजना तर्जुमा र कार्यान्वयनका विषयमा प्रशिक्षण दिने बताउनुभयो ।
मंगला गाउँपालिकाले शैक्षिक सुधारका लागि सामुदायिक विद्यालयहरुलाई लक्षित गरेर विभिन्न कार्यक्रम कार्यान्वयन गरेको छ । हालै पालिकाका सबै माविका प्रअ तथा शिक्षकहरुलाई नेपालका विभिन्न ठाउँमा रहेका ५वटा माविहरुको भ्रमण गराइएको थियो ।
भ्रमणपछि नमुना विद्यालयले गरेका सकारात्मक अभ्यासका बारेमा जानकारी भएको र त्यसलाई लागू गर्न सहयोग भएको मंगला माविका प्रअ गमबहादुर खत्रीले बताउनुभयो ।
साभार: myagdikali.com