विद्यालयको परिचय

विद्यालयको परिचय

                                      विद्यालयको परिचय

गण्डकी प्रदेश, म्याग्दी जिल्ला, मंगला गाउँपालिका वडा नं. २ (साविक बाबियाचौर गा.वि.स वडा नं. ५) बाबियाचौर बजारमा रहेको मंगला माध्यमिक विद्यालय समुद्र सतह– करिब  ११०० मिटर उचाइमा रहेको छ । यो  बेनी  दरबाङ  मोटरबाटो– दक्षिण तर्फ म्याग्दी नदीको उत्तरतर्फ पर्दछ । यस विद्यालयको स्वामित्वमा रहेको जग्गाको क्षेत्रफल ११–७–३–२ रहेको छ । मंगला गाउँपालिका वडा नं. २ बाबियाचौरमा रहेको यस विद्यालय २८ं २३' उत्तरी अक्षाशं र ८३‌ं २७' पूर्वी देशान्तरमा अवस्थित छ । 

हालको मंगला माध्यमिक विद्यालय तत्कालीन कुहूँ पञ्चायत अन्तर्गत बाबियाचौरमा प्रा.वि. स्तरको शिक्षण संस्थाको रुपमा २००९ सालमा स्थापना भएको थियो । भू.पू. सहायक मन्त्री स्वर्गीय श्री दीपबहादुर खड्काज्यूबाट ज्ञात भए अनुसार यस विद्यालय स्थापना गर्नमा स्वर्गीय सम्मरबहादुर मल्लको अग्रणी भूमिका रहेको पाइन्छ । प्रारम्भिक कालमा चन्दा उठाएर शिक्षकलाई तबल भुक्तानी गर्नुपर्ने स्थिति थियो । २०१२ सालमा श्री मंगला त्रिभुवन प्राथमिक विद्यालय भयो र पुनः यही मंगला त्रिभुवन प्राथमिक विद्यालय २०२२ सालमा आएर श्री मंगला निम्न माध्यमिक विद्यालयमा रुपान्तरित हुन पुग्यो । प्राथमिक तहबाट निम्न माध्यमिक तहमा परिणत गराउनमा शिक्षाप्रेमी भू.पू. सहायक मन्त्री स्वर्गीय श्री दीपबहादुर खड्काले पहल गर्नुभएको थियो । उहाँले विन्दु नेपाल (जो शिक्षा सम्बन्धी जिम्मेवारी बहन गर्नुभएको थियो) मार्फत यस विद्यालयलाई निम्न माध्यमिक विद्यालय स्तरमा परिणत गरेपछि त्रिभुवन प्राथमिक विद्यालय यसै गाउँपालिकाको वडा नं. २ (साविक बाबियाचौर गा.वि.स.को वडा नं. ४) र्‍यालेखोरमा स्थानान्तरण गरियो र यहाँ मंगला नि.मा.वि. रहन पुग्यो । पछि गएर समयको माग अनुसार २०३६ साल माघ १४ गते नि.मा.वि.बाट मा.वि.मा रुपान्तरण हुन पुग्यो । यसको लागि रु. ५०,०००।– डिपोजिट राख्नुपर्ने प्रावधान रहेको हँुदा त्यतिखेर यति रकम जुटाउन पनि मुश्किलै थियो । तत्कालीन विद्यालय अध्यक्ष श्री पदमबहादुर खत्रीको पहलमा रु ५०,०००।– उठाई अनुमति लिनेकाम भएको थियो ।

शै.स. २०७६ देखि यस विद्यालयले प्राविधिक तथा व्यवसाययिक विषय अन्तर्गत कृषि विज्ञान विषयमा कक्षा सञ्चालन गर्ने विद्यालयको रुपमा शिक्षा तथा मानवस्रोत विकास केन्द्रबाट छनौट भई मंगला गा.पा. बाट कक्षा ९ सञ्चालनको अनुमति प्राप्त गरेको छ भने यस विद्यालयलाई Big School को अवधारणा अन्तर्गत नमुना विद्यालयको रुपमा विकास गर्ने विद्यालयको रुपमा समेत छनौट गरिएको छ ।